लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को अधिकृत आकार ३ अर्ब रुपैयाँ पुर्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ। कम्पनीले असोज १९ गते कोषको आकार १ अर्ब रुपैयाँबाट वृद्धि गरी ३ अर्ब रुपैयाँ कायम गर्न स्वीकृति पाएको हो।
कम्पनीका अनुसार २०८२ कात्तिक २५ गते ५० करोड रुपैयाँको आकारबाट सञ्चालनमा आएको शुभ लक्ष्मी कोषको आकार पछि १ अर्ब रुपैयाँ पुर्याइएको थियो। पछिल्लो एक वर्षको अवधिमा कोषको आकार वृद्धिअनुसार थप रकमको ठूलो हिस्सा इकाइधनीहरूबाट संकलन गरी इकाइ बाँडफाँट गर्न कम्पनी सफल भएको जनाएको छ। कोषको आकार ३ अर्ब रुपैयाँ पुगेपछि थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। यसैगरी, शुभ लक्ष्मी कोषले इकाइधनीहरूका लागि व्यवस्थित निकासी योजना (एसडब्ल्यूपी) सुविधा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत इकाइधनीहरूले आफ्नो लगानीबाट निश्चित समयान्तरमा आवश्यक रकम योजनाबद्ध रूपमा झिक्न सक्नेछन्। विशेषगरी लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ।
नियमित रूपमा लगानी गर्न व्यवस्थित लगानी योजना (एसआईपी) र आवश्यकताअनुसार लगानीबाट रकम प्राप्त गर्न एसडब्ल्यूपी सुविधा उपलब्ध भएपछि शुभ लक्ष्मी कोष लगानीकर्ताका लागि थप आकर्षक विकल्प बन्ने कम्पनीको अपेक्षा छ।

Online Arthik










