सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत जनकपुरका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।
कात्तिक १ देखि १५ गतेसम्मको पहिलो पाक्षिक अवधिका लागि आयोजित लक्की ड्रमार्फत जनकपुरका उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका हुन् । कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँ बराबरको सामान खरिद गरेका ०९८०४६५५८१७५ नम्बरका करदाताले उक्त पुरस्कार जितेका हुन् ।अर्थ मन्त्रालयमा आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ मा लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो ।कार्यक्रमअन्तर्गत १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका अतिरिक्त प्रत्येक पाक्षिक अवधिमा एक जना उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।बम्पर पुरस्कार विजेता उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले टेलिफोनमार्फत बधाई दिएका थिए ।
कार्यक्रममा क्रिकेट खेलाडी ललितनारायण राजवंशीको समेत उपस्थिति रहेको थियो ।

Online Arthik










