धनतेरसलाई धन, समृद्धि र सुख–शान्तिको कामना गर्दै मनाइने विशेष पर्वका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यस दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास छ। धनतेरसमा खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गर्दा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास रहेको छ।
यस अवसरमा श्रद्धालुहरूले पवित्र मन र शुद्ध चित्तले पूजा–अर्चना गर्ने तथा लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ। विशेषगरी कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ। आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिर खरिद गर्न सकिने धार्मिक विश्वास छ। धनतेरसका दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ। यस दिन भाँडाकुँडा खरिद गर्दा सम्भव भएसम्म चाँदीको सामग्रीसमेत किन्नु शुभ मानिन्छ। खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ।त्यस्तै, यस दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ। यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुनुका साथै मानसिक शान्ति प्राप्त हुने जनविश्वास छ।
धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा लिइन्छ। यसै दिनदेखि दीपावलीको धार्मिक उत्सवसमेत सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ।

Online Arthik










