गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्दा भैरहवा र लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय प्रभावित भएको छ। विमानस्थल सञ्चालन हुने अपेक्षामा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट तथा पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायी संकटमा परेका छन्।

भैरहवामा आयोजित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी : पर्यटन कनेक्टिभिटी र आर्थिक समृद्धिको सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी मन्त्री तथा निजी क्षेत्रका प्रतिनिधिले विमानस्थल सञ्चालनका लागि सरकारसँग व्यावहारिक योजना माग गरेका छन्। सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसीका कार्यकारी अध्यक्ष विजयकान्त कर्णका अनुसार विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग र वार्षिक १० लाख यात्रु धान्न सक्ने टर्मिनल भए पनि छ महिनाभन्दा बढी समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल सञ्चालन खर्च भने वार्षिक आठ करोड रुपैयाँभन्दा बढी छ।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले लुम्बिनी आउने पर्यटकको बसाइ अवधि र खर्च बढाउनुपर्ने बताए। अधिकांश पर्यटक केही घण्टा मात्रै बिताएर फर्किने भएकाले पर्यटनबाट अपेक्षित आर्थिक लाभ लिन नसकिएको उनको भनाइ थियो।कार्यक्रममा सहभागी व्यवसायीले सरकारी आश्वासनमा अर्बौं लगानी गरे पनि विमानस्थल सञ्चालन नहुँदा ऋण तिर्न र व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो गरे। उनीहरूले नेपाल वायुसेवा निगममार्फत नियमित उडान सुरु गर्न तथा कूटनीतिक पहलबाट थप अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न माग गरेका छन्।विमानस्थल सञ्चालनका प्रमुख अवरोधमा थप हवाई प्रवेशमार्गको अभाव, प्राविधिक तथा नीतिगत समस्या, टिकट बिक्री र आवश्यक यात्रु सेवाको कमी तथा अन्तर्राष्ट्रिय बजारमा लुम्बिनीको कमजोर प्रचार रहेका छन्।

कार्यक्रममा लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई एउटै पर्यटकीय सर्किटमा जोडेर पर्यटकको बसाइ अवधि बढाउनुपर्ने सुझावसमेत दिइएको छ। नियमित उडान र स्पष्ट सरकारी कार्ययोजनाको अभावमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै भैरहवा र लुम्बिनीको आर्थिक विकाससमेत प्रभावित भइरहेको छ।

तपाईको प्रतिक्रिया