सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘सिटिजन्स म्युचुअल फण्ड–२’ ले सात वर्षे अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद लाभांश प्रदान गरेको छ । ५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आई २०८३ असार २१ गते परिपक्व भएको थियो । योजना खारेजी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरणसमेत सुरु गरिएको क्यापिटलले जनाएको छ । यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ ले औसत वार्षिक १२ प्रतिशत प्रतिफल दिएको थियो । यसैबीच, क्यापिटलले १० वर्षे अवधिको नयाँ बन्दमुखी सामूहिक लगानी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्कासन मंसिर २ गतेदेखि सुरु हुनेछ । योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ भने मागअनुसार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था छ । यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । हाल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजनासमेत व्यवस्थापन गर्दै आएको छ । इक्रा नेपालबाट ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्राप्त क्यापिटलले अघिल्ला योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनालाई पनि अनुशासित तथा व्यावसायिक रूपमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

Online Arthik










