गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने भने नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते।
महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने विपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियर विधामा प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जित्दा पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए। त्यसैगरी, विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोविन राणाले क्लोजेस्ट टु द पिन र टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार प्राप्त गरे। लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार पाए।
लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिला खेलाडीसहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई तथा गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।


Online Arthik









