आरएमसी फुड्स प्रालिले एकैपटक दुईवटा राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाता बनेको छ भने आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा सम्मानित भएको छ ।कम्पनीलाई मंसिर ७ गते आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा उत्कृष्ट करदाताको सम्मान प्रदान गरिएको हो । “कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो ।त्यसैगरी, मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो । भन्सार विभागको सिफारिसका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा आरएमसी फुड्सलाई छनोट गरेको जनाएको छ ।“औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कम्पनीलाई सम्मानपत्र प्रदान गरेका थिए । मन्त्रालयका सचिव रुद्रसिंह तामाङले कम्पनीका प्रतिनिधिलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्सले बाराको जीतपुरस्थित उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी ‘न्यूट्रिप्लस’ ब्रान्डका उत्पादनसहित विभिन्न खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ । कम्पनीले आधुनिक उद्योगमार्फत स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आएको जनाएको छ ।नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्षसमेत रहेका कम्पनीका अध्यक्ष राजेशकुमार अग्रवालले दुई राष्ट्रिय सम्मानले स्वदेशी उत्पादनको गुणस्तर बढाउन र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप प्रेरणा मिलेको बताए ।“देशको व्यापार घाटा न्यूनीकरण र दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता रहनेछ,” उनले भने ।

एकै अवधिमा कर भुक्तानी र निर्यात दुवै क्षेत्रमा सम्मानित हुनुले कम्पनीको व्यावसायिक गतिविधिका दुई फरक पक्षलाई उजागर गरेको छ । यसले स्वदेशी उद्योगको उत्पादन, कर योगदान र निर्यात विस्तारलाई आर्थिक गतिविधिसँग जोडेर हेर्ने अवसरसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया