कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ। स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।स्थानीय बासिन्दाका लागि आईपीओमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन म्याद थप हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा मंसिर २४ गतेसम्म म्याद थप गरिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।


Online Arthik










