प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने रु. १ अर्बको ‘प्रभु सेलेक्ट फन्ड’ निष्कासनको अन्तिम दिनसम्म करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कोष प्रवर्द्धक प्रभु बैंक तथा योजना व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ गत जेठ ५ गतेबाट बिक्री खुला गरिएको थियो। आज अपराह्न ५ बजेसम्म यो फन्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको प्रभु क्यापिटलले जनाएको छ।
कुल १० करोड इकाइको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपराह्न ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २८० इकाइका लागि आवेदन परेको छ । ८५ हजार ५५४ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८०० रुपैयाँबराबरको १८ करोड २८ लाख ५८ हजार २८० इकाइ खरिदका लागि आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ।
यो फन्डले १५ प्रतिशत इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई रु. १४ करोड लगानीबापत १ करोड ४० लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड लगानीबापत १० लाख इकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
सातवर्षे यस योजनालाई नेपाल धितोपत्र बोर्डले गते वैशाख १३ गते निष्कासन गर्ने अनुमति दिएको थियो।

Online Arthik










