‘१० रुपैयाँ, १० रुपैयाँ, आउनुस्, आउनुस्’ बालकृष्ण दंगाल हातमा पालंगो र रायोको साग देखाउँदै कालीमाटी फलफूल तथा तरकारी बजारमा ग्राहक बोलाइरहेका छन् । ग्राहकहरू आउँछन्, कोही दलाली गरेर कम मूल्यमा लैजान्छन् त कोही तोकिएकै मूल्यमा लैजान्छन् ।

सोमबार बिहान कालीमाटीमा देखिएको दृश्य हो । बालकृष्णले लगाएको मास्क चिउँडोमा पुगिसकेको छ । ‘लौ ५० रुपैयाँमात्रै दिनुस्’ पालु‌ंगोको ६ वटा मुठा बालकृष्णले ग्राहकका हातमा थमाइदिन्छन्। बालकृष्ण बिहानै उठेर तरकारी बोकेर कालीमाटी पुग्छन् । तरकारी बिक्री भए भइहाल्यो, नत्र फिर्ता लिएर उनी बिहानका ८ नबज्दै उनी घर फर्कन्छन्।

‘आफ्नै बारीमा पनि फलाएको छु, आफ्नामा नभएको बेला किनेर ल्याएर पनि बिक्री गर्छु’ बालकृष्णले भने, ‘लकडाउनपछि एक महिना ६ दिन त त्यत्तिकै बसे‌ं, तर सधैं बसेर पनि नहुने रहेछ ।’ अहिले पनि लकडाउन जारी छ ।

बालकृष्ण जस्ता धेरै व्यापारीहरु आफ्नो व्यवसायलाई सुरु राखेका छन् । ‘कोरोनाले केही समय धेरै तनाव दियो, तर सधै‌ं तनाव लिएर पनि नहुने रहेछ’ व्यापारीहरू सुनाउछन् । सबैलाई चिन्ता आम्दानीकै छ ।

रोगबाट बच्न आम्दानीको वास्ता नगर्ने भए बाच्ने कसरी ? यहीँ प्रश्न गर्छन् व्यापारीहरू । कोरोनाबारे सबै व्यापारीहरू जानकार नै छन् । उच्च सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने सबैलाई जानकारी छ । धेरैले मास्क लगाएका छन् । थोरै संख्याले हातमा पञ्जा पनि लगाएका छन् ।

कोहीकोहीको त न हातमा पञ्जा छ, न त अनुहारमा मास्क नै । तरकारी किन्न जानेहरू पनि निर्बाध हिँडिरहेका छन् । ‘व्यापार गर्नै पर्ने बाध्यता कोरोनाबाट सचेत हुनुपर्छ भन्ने लाग्दैन’ हाम्रो कुरा पछि उनी केही हच्किन्छन् ।

उनले आफ्नो मास्क चिउँडोमा पुगेको सम्झिन्छन् । ‘डर लाग्छ नि किन नलाग्नु, अरू मान्छे छेउमा आउँदा थरङ्गै हुन्छ, तर व्यापार नगरी नहुने’ उनले चिउँडोमा रहेको मास्क नाकसम्म पुर्‍याउँदै भने, ‘धेरैबेर लगाउँदा अस्पट हुन्छ, सास फेर्न पनि गाह्रो भएजस्तो हुनाले घरीघरी मास्क तल झार्छु ।’

बालकृष्णकै छेउँमा बसेर तरकारी बिक्री गरिरहेका उपेन्द्र कार्कीको पनि मास्क चिउडोमै छ । नाक र मुख ढाक्ने गरी मास्क लगाउनुपर्छ भन्ने ज्ञान उपेन्द्रलाई पनि छ । ‘थाहा छ नि, तर, के गर्दा के गर्दा तल झरिहाल्छ’ उपेन्द्र सुनाउँछन् ।

तपाईको प्रतिक्रिया