कवि वीरेन्द्र नेपालले लकडाउनको समय असार दुई गतेदेखि कात्तिक ६ गतेसम्म लगातार एक सयवटा कविता युट्यूबमार्फत सार्वजनिक गरेका छन्। एउटा पनि कृति प्रकाशन नगरेका उनले दैनिक एउटा छन्द कविता लेखेर अरुकै आवाजमा भिडियो रेकर्ड गरी सार्वजनिक गर्दै आएका थिए। सय दिन पुगेको अवसरमा बिहीबार जुम बैठकमा कवि वीरेन्द्रले सयौं कविता ‘विनित वचन’ वाचन गरेका थिए। उनले ३७ किसिमका छन्दमा कविता लेखेका थिए।

बैठकमा प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलले कवि वीरेन्द्रले सय दिनमा सय वटा कविता लेखेर एउटा साहसिक काम गरेको बताए। ‘नेपालका कविता शैल्पिक, भाषिक र भावका दृष्टिले उत्कृष्ट छन्’ उनले भने, ‘कवितामा सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, शैक्षिक, प्राकृतिक आदि विविधता रहेको पाएँ।’

डा. भीम खतिवडाले कवि नेपाललाई कोरोना कहरले नेपाली साहित्यमा पुनः जागृत गराएको बताए। उनले भने, ‘विश्व नै अत्यासलाग्दो मानवमृत्युको भयागार बनिरहेको बेला सृजनाको शतक साधना पूरा गरेका नेपालले माटो, परिवेश र मानवीय संवेदनाको कवित्व र लयचेतनाका साथ कला र शिल्पको संयोजनयुुक्त सुन्दर काव्यसौन्दर्यको उचाइ ग्रहण गरेका छन्।’

डा. रमेश घिमिरेले नेपालका कविता छन्द, अलंकार, भाव आदि दृष्टिले उत्कृष्ट रहेको बताए। कवि नेपालले हाल विश्वमा देखिएको कोरोना महामारीको विषम परिस्थितिको सदुपयोग गर्दै ‘सय दिनमा सय कविता’ सिर्जना गरी वाचन गराएर युट्यूब र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत साहित्यप्रेमीमाझ पुर्‍याएको बताए। उनले भने, ‘खासगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका वैज्ञानिक, सामाजिक, आर्थिक, राजनीतिक, प्राकृतिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई चिर्दै छन्दमा सिर्जना गरें।’ उनले सय कवितालाई दुईवटा कविता संग्रहको रुपमा प्रकाशन गर्ने जानकारी दिए।

‘निरीह जनता’ शीर्षकबाट सुरु गरी नेपालले लाजनीति, विश्वव्यथा, मानवीय पीडा, उठ नारी, मूर्ख चरित्र, विज्ञानको प्रभाव, कलियुग, कुर्सीजस्ता सय कविता लेखन र वाचन गरेका छन्। उनका कविता दीपक न्यौपाने, योगेन्द्र अधिकारी, योगेन्द्र पौडेल, दीपा भट्टराई, जानुका कोइराला, इन्दिरा दाहाल, गीता सापकोटा, सीता खतिवडा, लक्ष्मी तिवारी, मीना अधिकारी, रञ्जिता नेपाल, शर्मिला खतिवडा, पूर्णप्रकाश खतिवडा, मीना अधिकारी र डीपी दाहालले वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया