नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ। अमेरिकी समयअनुसार शनिबार बेलुका ८ बजे बाल्टिमोरस्थित अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएका हुन्।
उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्मा का अनुसार स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारका लागि उनलाई फ्र्यांकलिन स्क्वायरस्थित मेडस्टार अस्पतालमा रिफर गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भएको हो।उनका सहकर्मी तथा कलाकार शिवहरि पौड्याल ले पनि सामाजिक सञ्जालमार्फत शर्माको निधनको पुष्टि गर्दै आफूले असल साथी गुमाएको बताएका छन्।लामो समयदेखि परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका शर्मा नेपाली हास्य टेलिश्रृंखला, टेलिफिल्म तथा चलचित्रका लोकप्रिय कलाकार थिए। विशेषगरी चतुरेको दाउपेच मार्फत उनले दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए। उनको सरल अभिनय शैली र हास्य प्रस्तुतीले नेपाली दर्शकको मन जितेको थियो।
खेम शर्मा ‘चतुरे’को निधनसँगै नेपाली कला तथा मनोरञ्जन क्षेत्रले एक अनुभवी र लोकप्रिय कलाकार गुमाएको छ। उनका प्रशंसक, सहकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Online Arthik










