ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनका कार्यक्रमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३४.९ प्रतिशत भारित भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा विनियोजित बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा २.९ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै १ हेक्टर जग्गा उकास गरिएको छ ।

महाशाखाअन्तर्गतका केही आयोजनाले भने निर्धारित लक्ष्यभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर चितवनले त्रैमासिक लक्ष्यको तुलनामा १६०.८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ । लमही दाङमा सञ्चालित आयोजनाले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर धनुषाले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

नदी कटान, बाढी तथा जल उत्पन्न विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण र संरक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस्ता आयोजनाको प्रभावकारी कार्यान्वयनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया