नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म बैंकले ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ थियो । त्यस्तै, कर्जा तथा सापटी ३.०२ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने ३.७१ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । अर्कोतर्फ, खुद शुल्क तथा कमिसन आम्दानी १०.७९ प्रतिशतले बढेर ३६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी सामान्य वृद्धि भई १ अर्ब ७६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ थियो । कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम भने २८ करोड ७५ लाख रुपैयाँबाट घटेर १८ करोड ४० लाख रुपैयाँमा झरेको छ ।बैंकको सञ्चालन नाफा ९.४६ प्रतिशतले बढेर ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ७१ करोड ५७ लाख रुपैयाँ थियो । यस अवधिमा कर्मचारी खर्च भने बढेर ५२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष २.१७ प्रतिशतले बढेर ९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७० पैसाबाट बढेर १९ रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६६ पैसा रहेको छ ।
यद्यपि, बैंकको पुँजी पर्याप्तता अनुपात १४.३२ प्रतिशतबाट घटेर १३.६२ प्रतिशतमा झरेको छ । त्यस्तै, निष्क्रिय कर्जा अनुपात पनि ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।

Online Arthik










