नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार पहिलो दिन नै कुल २ लाख ८५ हजार ३१८ जना लगानीकर्ताले ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणलाई खुला गरेकोमध्ये ४८.८७% आइपीओ पहिलो दिनमै बिक्री भएको छ ।
कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ ।

तपाईको प्रतिक्रिया