कृषि विकास बैंकले आज आफ्नो वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र एपको उद्घाटन गर्ने कार्यक्रम रहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च हुन लागेको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।  ‘यदि कोभिडको महामारी नबढेको भए अहिलेसम्म कार्ड वितरण प्रक्रिया अघि बढी सक्ने थियो,’ उनले भने ‘हाम्रो तयारी अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गर्ने हो ।’  ‘यति उति भन्दा पनि बजार माग र आवश्यकता अनुसार हामी यो कार्डको व्यवस्थापन गर्छौ,’ उनले थपे ‘कार्यविधि तयार गरेर किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्ने योजना कृषि विकास बैंकका थियौ ।’  यी सबै कार्य सकिएको छ । सोही अनुरुप आज कार्डको उद्घाटन गर्न लागिएको हो ।

किसानलाई वितरण गर्न लागिएको क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा भएपनि क्यूआर कोडमा आधारित हुने हुनेछ । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ । साथै बैंकले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिनसक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया