बलिउडमा हाल बिहेको लर्काे चलिरहेको छ । यसै क्रममा बलिउड चर्चित अभिनेता सुनिल शेट्टीकी छोरी आथियाको बिहे हुने भएको छ। पछिल्लोपटक नवाजुद्दिन सिद्दिकीसँग ’मोतीचुर चकनाचुरु’ फिल्ममा देखिएकी अभिनेत्री आथियाको बिहे भारतीय क्रिकेटर केएल राहुलसँग हुन लागेको हो।

बलिउड लाइफका अनुसार उनीहरू लामो समयदेखि एकअर्काको प्रेममा थिए। उनीहरूको बिहे भव्य गर्ने तयारी छ। सुनिल निकट स्रोतको भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, सुनिल आफ्नी छोरीको बिहेका साह्रै भावुक भएका छन्। लामो समयपछि उनीहरूको परिवारमा बिहे उत्सव हुँदैछ। अरू बुवाजस्तै सुनिल यो बिहे उत्कृष्ट होस् भन्ने चाहन्छन्। उनले आगामी डिसेम्बरमा हुने बिहेका लागि अहिल्यैदेखि तयारी थालिसके।

सुनिलले अहिले नै राम्रा होटलहरू, क्याटरिङ र डिजाइनरहरू बुकिङ गरिसकेको पनि बताइएको छ।

सुनिल छोरीको रोजाइमा एकदमै खुसी छन्। केएल राहुल शेट्टी परिवारका लागि एकदमै ठिक छ। उनलाई परिवारको सदस्यका रूपमा पाउँदा शेट्टी परिवार खुसी छन्। यो बिहे भव्य हुनेछ,स्रोतका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ।

आथिया र केएल राहुलको बिहे जुहु, मुम्बईको पाँचतारे होटलमा हुनेछ। सुनिल र शेट्टी परिवार निकटका फिल्म उद्योगका सबैजसोलाई निम्तो दिइने पनि बताइएको छ। त्यस्तै केएल राहुलनिकटका क्रिकेटरहरूलाई पनि बोलाइनेछ।

सुनिलको रहर आफ्नी छोरीको बिहेमा सबैले रमाऊन् भन्ने हो। त्यसैले पनि यो बिहे भव्य गर्ने तयारी भइरहेको बताइएको छ। सुनिल र उनकी पत्नी माना शेट्टीका दुई सन्तान छन् ( छोरी आथिया र छोरा आहान।

तपाईको प्रतिक्रिया