गत वर्षको पुस मसान्तको तुलनामा यो वर्षको पुस मसान्तसम्ममा आइपुग्दा अर्थतन्त्रमा धेरै सुधार भएको छ । गत वर्ष यतिबेला हामी अर्थतन्त्रका सूचकप्रति आत्तिएका थियौं । कोभिडपछिको प्रभाव देखिन थालेको र अर्थतन्त्रका सूचक निरन्तर नकारात्मक हुँदै गएको अवस्था थियो ।

पछिल्लो समय राष्ट्र बैंकले नगद मार्जिन राख्ने, आयातमा प्रतिबन्ध लगाउन गरेको सिफारिस सहितले अर्थतन्त्र जोगाइराख्न सहज बनाएको छ । गत वर्षको तुलनामा यो वर्षको पुसमा आइपुग्दा आयात धान्न सक्ने क्षमता बढेको छ । मंसिरसम्मको तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । आयात धान्न सक्ने क्षमता कम हुँदै ६ महिनासम्म झरिसकेको थियो भने अहिले ९ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति छ ।

अन्तर बैंक दर पनि घट्दै गएको छ । १० प्रतिशतसम्म पुगिसकेको यस्तो बैंक दर ८ प्रतिशतसम्म आइपुगिसकेको छ । ब्याजदरको ग्राफ पनि घट्न थालिसकेको छ ।

आगामी महिनाबाट ब्याजदर थप घटाउने भनेर बैंकहरूले नै निर्णय गरिसकेका छन् । पछिल्लो समय तरलता पनि सहज हुँदै गएको छ । पर्यटक आगमनमा सुधार, रेमिट्यान्स बढेको, विदेशी लगानी समेत केही हदसम्म बढेको र तरलता सहज हुँदै जानुलाई अर्थतन्त्रमा सकारात्मक संकेत हो भनेर बुझ्नुपर्छ ।

अन्तर्राष्ट्रिय सिनारियो हेर्ने हो भने पनि अहिले हाम्रा लागि धेरै सहज हुँदै गएको छ । विश्व बैंकले गरेको पछिल्लो प्रक्षेपणले २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । पछिल्लो समय अरु देशमा भइरहेको नकारात्मक वृद्धिबीच नेपालमा भने सकारात्मक वृद्धिदर आउनुलाई पनि राम्रो मानिनुपर्छ ।

अर्थतन्त्र चलायमान भएको पनि पछिल्लो समयको निक्षेपले देखिन थालेको छ । अर्थतन्त्र चलायमान भएपछि सबै सानातिना गतिविधि पनि बढ्न थाल्छ । आमजनताको अपेक्षा र विश्वास पनि बढ्दै जाने हुन्छ । पछिल्लो समय शेयर बजार पनि वृद्धि भएको देखिएको छ । हामीले शेयर बजार र घरजग्गामा मात्रै हेर्नुभन्दा पनि आमजनतामा बढेको विश्वासलाई हेर्नुपर्छ ।

पछिल्लो समय बैंकहरूमा देखिएको मर्जर पनि राष्ट्र बैंकले लिएकै नीतिको सकारात्मक प्रभाव हो भनेर बुझ्नुपर्छ । राष्ट्र बैंकले लिएको मर्जर नीतिका कारण यसअघि फाइनान्स र विकास बैंकहरू मात्रै मर्जर भएका थिए । पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालको पालामा आएको मर्जर नीतिले काम गरेको भए पनि वाणिज्य बैंकहरूमा भने खासै प्रभावकारी भएको थिएन ।

अहिले भने राष्ट्र बैंकले लिएकै मर्जर नीतिका कारण धेरै वटा बैंक मर्जर हुन पुगे । राष्ट्र बैंक उदार नियामक भएकै कारण पछिल्लो १ वर्षमै २७ वटाबाट २० वटा वाणिज्य बैंक आइपुग्ने गरी मर्ज भइरहेका छन् । संख्याका हिसाबले हेर्ने हो भने पनि ३२ वटा वाणिज्य बैंकबाट १२ वटा घट्नु भनेको राम्रो उपलब्धि हो ।

पछिल्लो समय भएको मर्जरको लहरकै कारण ५० अर्ब रुपैयाँभन्दा बढी कूल पुँजीका वाणिज्य बैंक बन्न सकेका छन् । केन्द्रीय बैंकले अवलम्बन गरेको मर्जर सम्बन्धी नीतिको सफल कार्यान्वयन पछिल्लो ६ महिनामा हुन पुगेको छ ।

वाणिज्य बैंकहरूले केन्द्रीय बैंकले कुनैलाई पनि बलपूर्वक मर्जर गर्नु भनेको छैन । आवश्यकता र उस्तै प्रकृति मिल्नेसँग मर्जरमा जान हामीले प्रोत्साहन भने गरिरहेका थियौं । जसका कारण बैंक बलियो मात्रै नभएर सख्ंया पनि घटाउन सकिएको छ । अझै घट्ने संकेत देखिएको छ ।

एजेन्सी

 

तपाईको प्रतिक्रिया