राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुवै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउँदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन्।

कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई कम्प्युटराइज्ड गभर्मेन्ट अकाउन्टिङ सिस्टम (सीजीएएस) प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिँदै आएको छ।

कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोषलगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सब्मिसन नम्बर तथा कार्यालय कोडसहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेस गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सब्मिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ हाउसको बैंक सेन्ट्रल सफ्टवेयरमार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन्। यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हँुदा सहज हुने विश्वास गरिएको छ।

यसका साथै सम्पूर्ण सरोकारवाला निकायहरुले पनि यसै प्रबिधिको प्रयोग गरी रकम जम्मा गर्नसमेत अनुरोध गरिएको छ।

कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फर्छ्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशिको उुपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममासहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

 

तपाईको प्रतिक्रिया