कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । शेयर निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात् ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्न लागिएको हो ।  सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरीसम्बन्धीे औषधिहरूको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेका छन् । कम्पनीले उत्पादन गरिरहेका औषधिहरू विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा गुड म्यानिफ्याक्चरिङ प्राटिक्स (जीएमपी) तथा एफएएमआईक्यूएस अनुसार प्रमाणीकरण प्रमाणपत्रहरू प्राप्त गरी नेपाल तथा अन्र्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ  । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा योगदान पुर्‍याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेका यस कम्पनीले भेटरीनेरी औषधि उद्योगहरूअन्तर्गत सर्वसाधारणहरूमा शेयर निष्कासन गर्ने यो पहिलो औषधि उद्योग हो ।

तपाईको प्रतिक्रिया