नेपालको अग्रणी बैंक नबिल बैंक लिमिटेडले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा दुई प्रतिष्ठित उपाधि हात पार्न सफल भएको छ। बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको हो।

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग, उत्कृष्ट सेवा तथा ग्राहक र सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त गर्न सफल भएको जनाएको छ। साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिको मूल्याङ्कन स्वरूप प्रदान गरिएको हो। यसैगरी, नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर उपाधि मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा बैंकको सक्रिय वित्तीय सहभागिताका आधारमा प्रदान गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज ज्ञवालीले अवार्ड प्राप्तिप्रति खुशी व्यक्त गर्दै भने,
“यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन्। हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं।”
उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

विगत चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको नबिल बैंकले हाल देशभर २६८ शाखा, ३२१ एटिएम तथा २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले सदैव नवीनतम सेवाहरूको सुरुवात गर्दै नेपालको बैंकिङ इतिहासमा कोसेढुङ्गा राख्दै आएको छ।

तपाईको प्रतिक्रिया