ए डिभिजन फुटबल क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध आफ्ना माग राख्दै सातदोबाटोस्थित एन्फा कार्यालय अगाडि धर्ना दिएका छन्। एन्फा र क्लबहरूबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने, एक वर्षको लिग साइकल पूरा गर्नुपर्ने तथा एएफसी क्लब लाइसेन्स प्रणाली लागू गर्नुपर्ने मागसहित क्लबका प्रतिनिधिहरू बिहानैदेखि गेट अगाडि जुटेका हुन्।
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग सञ्चालनमा अनिश्चितता कायम रहँदा क्लबहरू मारमा परिरहेको बताए।
“हाम्रो चाहना भनेको लिग स्थायी, व्यवस्थित र अन्तर्राष्ट्रिय मानकअनुसार चलोस् भन्ने हो। तर कहिले राष्ट्रिय लिग, कहिले शहीद स्मारक ‘ए’ डिभिजन लिग भन्ने अनिश्चितता छ। राष्ट्रिय लिग, ए डिभिजन लिग र बी डिभिजन लिग सबै वर्षको एक चक्रभित्र सम्पन्न हुनैपर्छ,” उनले भने।
एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरूसँग छलफलको समय तोकेको छ, तर क्लबका प्रतिनिधिहरू बिहान ९ बजेदेखि नै धर्नामा बसेका छन्। धर्नालाई लक्षित गरी एन्फा गेट अगाडि सुरक्षाकर्मीहरूको उपस्थिति पनि बढाइएको छ।
क्लबहरूले लिगका प्रतियोगिताहरू समयमै सञ्चालन गर्न दबाब दिने, ए डिभिजन क्लबहरूसँगको सम्झौता लागू गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने भन्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका छन्।
यसअघि नेपाल फुटबल खेलाडी संघले पनि एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएर ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गरेको थियो। संघले घरेलु फुटबलको नियमितता कायम गर्न एन्फालाई तत्काल कदम चाल्न आग्रह गरेको थियो।

Online Arthik









