पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले यही पुस २५ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ लाख कित्ता, कुल ७५ करोड रुपैयाँबराबरको आइपीओ निष्कासनको अनुमति पाइसकेको छ। यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) र खानी रहेको पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता तथा सर्वसाधारणका लागि छुट्याइएको ५६ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीय आवेदकले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार र गैँडाकोट शाखा, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलतारी शाखा तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखासँगै सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

स्थानीयका लागि आइपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया