नेपाल फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानीमा आएको गिरावटसँगै घाटामा गएको छ। कम्पनीले समीक्षा अवधिमा ८ करोड ७३ लाख रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४३.६१ प्रतिशतले घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ३ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुगेको छ भने सञ्चालन नाफा पनि ८ करोड ७३ लाख रुपैयाँले ऋणात्मक बनेको छ।
कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानीमा पनि कमी आएको छ। अघिल्लो आवमा ५६ लाख ६१ हजार रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर चालु आवको दोस्रो त्रैमासमा ५२ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ।समीक्षा अवधिमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ। कम्पनीको वितरणयोग्य मुनाफा ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। रिटेन्ड अर्निङ पनि ३८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा ४९ करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीको निक्षेप संकलन ३ अर्ब ८८ करोड रुपैयाँबाट बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। तर कर्जा प्रवाह भने २ अर्ब ४९ करोड रुपैयाँबाट घटेर २ अर्ब ४२ करोड रुपैयाँमा खुम्चिएको छ। कम्पनीको खराब कर्जा अनुपात उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आवमा १०.४६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १६.७३ प्रतिशत पुगेको छ।
वित्तीय सूचकांकतर्फ कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.२६ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात (PE) ५५.९४ गुणा ऋणात्मक, प्रतिसेयर नेटवर्थ १२१.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६९१.२७ रुपैयाँ तथा तरलता अनुपात ५३.३७ प्रतिशत कायम भएको छ।

Online Arthik










