जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएका सीमा क्षेत्रहरूमा आवतजावतमा अस्थायी रोक लगाएको छ। प्रशासनका अनुसार फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमा क्षेत्र पूर्ण रूपमा बन्द रहनेछ। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाबमोजिम उक्त निर्णय गरिएको जानकारी दिएका छन्। पाँचथरको भारतको सिक्किम र पश्चिम बंगाल राज्यसँग करिब ४४ किलोमिटर सीमा जोडिएको भए पनि औपचारिक सीमानाका छैनन्, तर दुवैतर्फका बासिन्दा पारिवारिक, व्यापारिक, पर्यटन तथा पशुचौपायाको चरिचरनका लागि नियमित रूपमा वारपार गर्दै आएका छन्। चिवाभञ्ज्याङ, फालोटलगायत क्षेत्रबाट हुने सवारीसाधन तथा मानिसको आवागमनमा पनि उक्त अवधिभर रोक लगाइनेछ। यद्यपि, सुरक्षा अधिकारीबाट प्रमाणित आकस्मिक स्वास्थ्य सेवाका एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन भने सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया