चितवन राष्ट्रिय निकुञ्ज मा गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले वृद्धि भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यस वर्ष यो संख्या बढेर १ लाख ६८ हजार ६९५ पुगेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार फागुन मसान्तसम्म १ लाख ४ हजार ९६ जना नेपाली, ९ हजार ५४४ सार्क मुलुकका तथा ५५ हजार ५५ जना अन्य देशका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोही लगायतका वन्यजन्तु तथा विविध चराचुरुङ्गी अवलोकन गर्न पर्यटकहरू आउने गर्छन्।

यस अवधिमा निकुञ्जले कुल १७ करोड ५७ लाख ५६ हजार ३२५ रुपैयाँ राजस्व संकलन गरेको छ। जसअन्तर्गत काठ दाउरा बिक्रीबाट ७१ हजार ३५० रुपैयाँ, गैरकाठ वन पैदावारबाट ७० लाख ६८ हजार ७६६ रुपैयाँ, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १०० रुपैयाँ, दण्ड–सजायबाट ७ लाख ५९ हजार ७०४ रुपैयाँ तथा अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ संकलन भएको छ।

तपाईको प्रतिक्रिया