सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले गत चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा सुरुआतमा चैत २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
तर मागअनुसार आवेदन नपरेकाले अब आवेदन दिने म्याद वैशाख ७ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको समयअघि नै निष्कासन बन्द गरिने पनि बताइएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि २८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। यसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र (बझाङको बुंगल नगरपालिका वडा नं. १, २ र ४) का बासिन्दाका लागि र ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र (वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११) का बासिन्दाका लागि छुट्याइएको छ।आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन फाराम बुंगल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा तथा ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङस्थित शाखा कार्यालयबाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik









