हुलाकमार्फत सञ्चालन हुने कुरिअर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गर्ने व्यवस्था लागू गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायसँग समन्वय गरी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो।
हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीचको सहकार्यमा लागू गरिएको यस व्यवस्थाले विदेश पठाइने तथा विदेशबाट आयात गरिएका सामानको जाँचपास छिटो, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार लामो प्रयासपछि मन्त्रालयको निर्देशनमा यो प्रणाली लागू गरिएको हो। अब त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा हुलाक कुरिअरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली स्थापना गरिनेछ।यससँगै सार्वजनिक बिदाका दिन पनि हुलाक कार्यालयबाट विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा उपलब्ध हुने भएको छ। यसअघि गोश्वारा हुलाक अफिस खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावकारी हुन सकेको थिएन।अन्तरनिकाय समन्वय अभावका कारण आएका गुनासोपछि मन्त्रालयले चासो दिएर सुधार प्रक्रिया अघि बढाएको हो। पछिल्लो फागुन महिनामा मात्र उक्त कार्यालयबाट १९ हजारभन्दा बढी आयातित पार्सल तथा करिब ११ हजारभन्दा बढी निर्यातित सामग्रीको कारोबार भएको तथ्यांक छ।
हुलाकमार्फत हुने कुरिअर सेवाको माग बढ्दै गएको अवस्थामा द्रुतमार्ग प्रयोग र बिदाको दिन सेवा सञ्चालनले सेवा गुणस्तर सुधार, व्यवसाय विस्तार तथा राजस्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Online Arthik










