नेपालको सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपालका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो। यसअनुसार चालु आर्थिक वर्षको १० महिनामै सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको देखिन्छ। कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८१ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९३ अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ। अमेरिकी डलर मजबुत हुँदा विनिमय दरको असरले मात्र बाह्य ऋण दायित्वमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको थप चाप परेको उल्लेख गरिएको छ।चालु आर्थिक वर्षमा सरकारले हालसम्म ३ खर्ब ६५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ। सोही अवधिमा ऋण सेवा खर्च (साँवा तथा ब्याज भुक्तानी) २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।
यसमा साँवा भुक्तानी २ खर्ब ३२ अर्ब रुपैयाँ र ब्याज भुक्तानी करिब ६१ अर्ब रुपैयाँ रहेको छ। आन्तरिक ऋणतर्फ मात्रै करिब २ खर्ब ३६ अर्ब रुपैयाँ भुक्तानी गरिएको तथ्याङ्कमा उल्लेख छ।
कार्यालयका अनुसार ऋण व्यवस्थापन, विनिमय दरको उतारचढाव तथा बजेट कार्यान्वयनको अवस्थाले सार्वजनिक ऋणको संरचना र दायित्वमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

Online Arthik










