पोखरा महानगरपालिका ले फिर्केखोला खोलाघर (सीमा) भित्र बनेका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू आगामी जेठ ९ गतेभित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिकाका अनुसार तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा महानगर आफैंले हटाउने र सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने स्पष्ट चेतावनी दिइएको छ। महानगरले जनाएको अनुसार वडा नं. १८ को अँधेरीकुनादेखि सुरु भई वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म पुगेर फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गरिएको पाइएको छ।यसअघि महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडेर सीमाङ्कन गरिएको क्षेत्रमा पर्ने संरचनाहरू हटाउन निर्देशन दिएको थियो। उक्त सूचनाविरुद्ध परेको मुद्दामा उच्च अदालत पोखराले महानगरको कदमलाई सदर गर्दै उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो। अदालतको आदेश तथा महानगरले गत वैशाख ४ गते जारी गरेको सूचनालाई आधार मान्दै यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको महानगरले जनाएको छ।

महानगरले सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई तोकिएको मितिभित्र आफ्ना संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरेको छ। अन्यथा महानगरले डोजर परिचालन गरी संरचना हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय लागत अतिक्रमणकर्ताबाटै असुल उपर गरिने स्पष्ट पारिएको छ।

तपाईको प्रतिक्रिया