सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई लक्षित गर्दै एएमएलरसीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत आयोजित उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए ।प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, शंकास्पद कारोबार पहिचान तथा वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा बीमा क्षेत्रलाई पारदर्शी, जिम्मेवार तथा नियामक निकायको मापदण्डअनुसार सञ्चालन गर्न एजेन्सी तहको भूमिका महत्वपूर्ण रहने विषयमा समेत जोड दिइएको थियो । साथै, ग्राहक पहिचान प्रक्रिया (KYC), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबार रिपोर्टिङका विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रशिक्षणका क्रममा कानुनी विभाग प्रमुख सुभाष भण्डारीले वित्तीय अपराध नियन्त्रण तथा संस्थागत सुशासन कायम गर्न एएमएलरसीएफटीसम्बन्धी सचेतना र अनुपालन अत्यन्त आवश्यक रहेको बताए । उनले बीमा व्यवसायमा विश्वसनीयता र पारदर्शिता कायम राख्न सम्पूर्ण अभिकर्ता तथा व्यवस्थापकीय तह जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । कार्यक्रममा सहभागीहरूले यस्तो प्रशिक्षणले नियामकीय विषयप्रति आफ्नो बुझाइ थप स्पष्ट हुनुका साथै व्यवसाय सञ्चालनमा जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका थिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि कर्मचारी तथा एजेन्सी संरचनालाई नियामकीय व्यवस्था, सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी ज्ञान र सचेतनामा थप सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

Online Arthik










