स्वाभिमान लघुवित्त वित्तीय संस्था ले आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको सम्पूर्ण लाभांश रद्द गर्दै कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
संस्थाको ११४औं सञ्चालक समिति बैठकले पहिले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश समावेश थियो, जुन नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र लागू हुने शर्तमा सार्वजनिक गरिएको थियो। तर पछिल्ला वित्तीय समायोजन, नियामकीय आवश्यकताहरू तथा वित्तीय सूचकहरू सुधार गर्नुपर्ने अवस्थाका कारण उक्त प्रस्ताव कायम राख्न नसकिने निष्कर्षमा संस्था पुगेको हो।यसैअनुसार गत जेठ ८ गते बसेको ११७औं सञ्चालक समिति बैठकले पुरानो लाभांश प्रस्ताव परिमार्जन गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि बोनस सेयर र नगद लाभांश दुवै नदिने निर्णय गरेको हो।
संस्थाले यो निर्णय नियामकीय मापदण्ड, दीर्घकालीन वित्तीय स्थायित्व र संस्थागत सुदृढीकरणलाई ध्यानमा राखेर गरिएको बाध्यात्मक कदम भएको जनाएको छ। साथै, लाभांश नपाउँदा प्रभावित हुने शेयरधनी तथा सरोकारवालाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा संस्थाको वित्तीय अवस्था सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ।

Online Arthik










