अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको हालै सम्पन्न भ्रमणका क्रममा सरकार, संसद् तथा विभिन्न सरोकारवालासँग देशको आर्थिक अवस्था, नीतिगत सुधार र दीर्घकालीन विकासका विषयमा विस्तृत छलफल गरेको छ।

आईएमएफको एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्रको नेतृत्वमा आएको टोलीमा नेपालका लागि मिसन प्रमुख डा. सरवत जहाँ र आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ता सहभागी थिए। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेटवार्ता गर्दै नेपालको समष्टिगत आर्थिक अवस्था, आर्थिक दृष्टिकोण तथा दीर्घकालीन विकास र रोजगारी सिर्जनाका नीतिगत प्राथमिकताबारे छलफल गरेको जनाएको छ।प्रतिनिधिमण्डलले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रियात्मक छलफल गरेको थियो। छलफलमा आईएमएफले नेपालसँगको सहकार्य, हालै सम्पन्न विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम तथा समष्टिगत र संरचनात्मक नीतिगत विषयहरूबारे प्रस्तुति दिएको थियो। आईएमएफका अनुसार छलफल खुला, रचनात्मक र जानकारीमूलक रहेको थियो।टोलीले सांसदहरूले दिएका नीतिगत सुझाव, सरोकार र दृष्टिकोणलाई पनि ध्यानपूर्वक सुनेको जनाएको छ। भ्रमणको समापनमा डा. जैन–चन्द्रले नेपाल सरकार तथा सरोकारवालाहरूले गरेको आतिथ्यप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सांसद तथा अन्य सरोकारवालासँग भएका छलफलहरू उपयोगी र भविष्यउन्मुख रहेको बताइन्।उनले आईएमएफ र नेपालबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउँदै दिगो, समावेशी र स्थिर आर्थिक विकासका लागि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

भ्रमणका क्रममा आईएमएफ टोलीले थिंक ट्यांक, नागरिक समाज, शैक्षिक क्षेत्र तथा जेन–जी समुदायका प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेको थियो। आईएमएफले सन् १९६१ देखि नेपालसँग रहँदै आएको साझेदारीलाई पुनः पुष्टि गर्दै आर्थिक सुधार, स्थायित्व र समावेशी वृद्धिका लागि नीतिगत संवादलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया