आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडानलाई दीर्घकालीन र दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ तथा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँग भएको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई स्थायित्व दिने गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए।

महाप्रबन्धक शाहीले पोखरा–दुबई उडान सफल बनाउन स्थानीयवासी, निजी क्षेत्र र सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताए। उनका अनुसार यो उडानमार्फत गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका यात्रुले दुबई हुँदै लन्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्।छलफलमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अन्तरराष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले पनि उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको बताए। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नियमित अन्तरराष्ट्रिय उडान सफल बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।रेवान पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा अन्तरराष्ट्रिय पर्यटक आगमन बढाउने विषयमा समेत छलफल भएको थियो। पर्यटन क्षेत्रको दिगो विकास र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणले गत महिना फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालनको अनुमति दिएको थियो। कम्पनीले उडान तालिका सार्वजनिक गर्दै सुरुमा एक महिनासम्म दैनिक एक उडान गर्ने र सन् २०२७ मार्च २६ सम्मका लागि बुकिङ खुला गरिएको जनाएको छ। उडानअघि फ्लाइ दुबईको टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको उच्चस्तरीय निरीक्षणसमेत गरेको थियो।सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेलगत्तै फ्लाइ दुबईले उडान अनुमति पाएको हो। पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोडिएपछि ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन्। हालसम्म केही छिमेकी मुलुकमा चार्टर उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन।

करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको थियो। हाल यो विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित रहेको छ।

तपाईको प्रतिक्रिया