काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २ हजार १७६ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये ८१ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, १०१ जना नियमविपरीत राइड सेयरिङ गर्ने, १५९ जना ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने तथा २०२ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, फुटपाथ तथा सडकमा सवारी पार्किङ गर्ने ११० जना, एकतर्फी सडक नियम उल्लंघन गर्ने ६६ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५५ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले कारबाहीबाट कुल १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

Online Arthik









