एलपी ग्यास उद्योग संघ नेपालले उद्योग सञ्चालनका लागि आवश्यक एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

मंगलबार जारी अपिलमा संघले पछिल्लो समय एलपी ग्यासको आपूर्तिमा देखिएको समस्याका कारण उद्योगहरूमा कच्चा पदार्थको अभाव भएको र त्यसले उत्पादन तथा बजार आपूर्तिमा प्रत्यक्ष असर पर्न थालेको जनाएको छ। आवश्यक परिमाणमा समयमै ग्यास उपलब्ध गराउन नसकिए उद्योगहरू थप संकटमा पर्ने अवस्था आउने संघको चेतावनी छ। संघले सम्बन्धित सरकारी निकाय, नेपाल आयल निगम तथा सरोकारवाला पक्षलाई ग्यास आयात, ढुवानी र वितरण प्रक्रियालाई सहज बनाई उद्योगहरूमा नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।साथै, उद्योग सञ्चालनलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्दै उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्ने वातावरण बनाउन सरकारलाई विशेष ध्यान दिन पनि संघले अनुरोध गरेको छ।

आपूर्ति व्यवस्थापनमा देखिएको समस्या छिट्टै समाधान भए बजारमा देखिएको ग्यास अभाव अन्त्य हुने विश्वास संघले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया