काठमाडौंको थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (साकोस) ले फिनटेक इन्टरनेसनल प्रालिसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि जीपीएस र एनएफसी (NFC) प्रविधिमा आधारित नगदरहित ‘यात्रा कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ। साउन १८ गते आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र साकोसका अध्यक्ष शिवशंकर मानन्धरले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन्। संस्थाका अनुसार सार्वजनिक यातायातमा यस्तो डिजिटल भुक्तानी प्रणाली सुरु गर्ने यो पहिलो सहकारी हो। नयाँ एनएफसी कार्डले सदस्यता परिचयपत्र र यात्रा कार्ड दुवैको काम गर्नेछ भने यात्रुले नगदबिनै ‘ट्याप इन’ र ‘ट्याप आउट’ प्रणालीमार्फत सहज रूपमा भाडा तिर्न सक्नेछन्। हाल काठमाडौंमा सञ्चालन हुने रिद्धिसिद्धि यातायातका बसमा सेवा सुरु गरिएको छ र आगामी दिनमा देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। यसैबीच, चन्द्रागिरि साकोसले डिजिटल वित्तीय सेवा, प्रविधिमैत्री सदस्य सेवा तथा नवप्रवर्तनमा पुर्‍याएको योगदानका लागि विश्व ऋण परिषद् (WOCCU) बाट ‘डिजिटल ग्रोथ अवार्ड–२०२६’ समेत प्राप्त गरेको छ, जसले नेपाली सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया