लक्ष्मी सनराइज बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा खरिद आवेदन दिने समयावधि साउन २८ गतेसम्मका लागि लम्बाएको छ। बैंकले साउन १४ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो, जसमा प्रारम्भिक आवेदन अवधि साउन १९ गतेसम्म तोकिएको भए पनि मागअनुसार आवेदन नपरेकाले म्याद थप गरिएको हो। यद्यपि, तोकिएको अवधिअगावै पर्याप्त आवेदन प्राप्त भएमा निष्कासन समयअघि नै बन्द गर्न सकिने व्यवस्था गरिएको छ। कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ, जसमा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। १० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहनेछ। इच्छुक लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik










