राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिम समुदायबाट भए पनि हिन्दू राष्ट्रको अवधारणा बोकेको पार्टीमा आबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राप्रपाले धार्मिक विभाजन वा द्वन्द्व निम्त्याउने किसिमको हिन्दू राष्ट्रको पक्षमा नरहेको स्पष्ट पारे। नेपाल सबै धर्म, जातजाति र समुदायको साझा देश भएकाले धार्मिक सहिष्णुता र सद्भाव कायम रहनुपर्नेमा जोड दिँदै उनले ‘सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली हौँ’ भन्ने भावनाअनुसार अघि बढ्नुपर्ने बताए। सांसद भाटले विश्वका विभिन्न मुलुकले धार्मिक पहिचानसँग जोडिएको राष्ट्रिय पहिचान कायम राखेको उल्लेख गर्दै नेपालमा पनि हिन्दू सभ्यतासँग जोडिएको पहिचानको विषय उठाइएको बताए। ‘म मुस्लिमको छोरा भएर पनि हिन्दू राष्ट्रकै पार्टीमा छु, तर यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया