सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्। विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ। बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया