नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ ३ गते निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार १८० दिन अवधिका लागि निक्षेप संकलन गरिनेछ। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्र सञ्चालन हुनेछ। बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म बोल गर्न सकिनेछ। कुल आह्वान रकम भने १०० अर्ब रुपैयाँको सीमाभित्र रहनेछ।यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरका बोलबाट आह्वान रकमभन्दा बढी माग भएमा समानुपातिक आधारमा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाउने व्यवस्था गरिएको छ।
निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी माघ ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










