आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीलगायत उच्च व्यवस्थापन समूह तथा नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष प्रबिन लामिछाने, पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार संघमा आबद्ध देशभरका सदस्य तथा व्यवसायीलाई सहज, गुणस्तरीय र भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराइनेछ। संघ तथा त्यससँग आबद्ध सदस्य र संस्थाबाट बिक्री–वितरण हुने सवारी साधन, सम्पत्ति तथा अन्य सम्बन्धित वस्तुको बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गर्ने व्यवस्था गरिएको छ। साथै, बीमा गरिएका सवारी साधन दुर्घटनामा परी क्षति भएमा दाबी भुक्तानी प्रक्रियालाई सहज र सरल बनाउने सहमति भएको छ। कार्यक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ, यसका सदस्य तथा ग्राहकलाई कम्पनीबाट विभिन्न प्रकारका निर्जीवन बीमा सेवा लिन आग्रह गरे। उनले बीमा सेवा र दाबी प्रक्रियालाई प्रभावकारी बनाउँदै ग्राहकलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।संघका अध्यक्ष प्रबिन लामिछानेले संघका सदस्य तथा ग्राहकको सन्तुष्टि क्रमशः बढ्दै गएको उल्लेख गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट बीमा सेवा लिन पाउँदा आफूहरू खुसी रहेको बताए। उनले कम्पनीबाट बीमा सेवा छिटोछरितो रूपमा प्राप्त भइरहेको समेत बताए।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले आगामी दिनमा पनि सेवा आदान–प्रदानलाई निरन्तरता दिँदै सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Online Arthik










