हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
भदौ १० गते बिहान रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा गेग्रानसहित आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्ती र अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बैंकले उक्त अप्रत्याशित विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा जुट्न सम्बन्धित सबै निकाय तथा नागरिकलाई आग्रह गरेको छ।
हिमालयन बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा रहँदै आवश्यक सहयोग गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

Online Arthik










