अक्सफोर्ड इकोनोमिक्सको ‘ग्लोबल सिटिज इन्डेक्स–२०२६’ मा अमेरिकाको न्यूयोर्क विश्वकै उत्कृष्ट सहर बनेको छ। १०० अंकसहित न्यूयोर्क पहिलो स्थानमा रहँदा बेलायतको लन्डन ९८.८ अंकसहित दोस्रो र फ्रान्सको पेरिस ९३.४ अंकसहित तेस्रो भएका छन्। सियाटल, सान फ्रान्सिस्को, डब्लिन, बोस्टन, सान होजे, टोकियो र ज्युरिख शीर्ष १० मा परेका छन्।

विश्वका एक हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय पुँजी, जीवनस्तर, वातावरण र सुशासनका आधारमा मूल्यांकन गरिएको सूचकांकमा नेपालको राजधानी काठमाडौं भने ६८७औँ स्थानमा रहेको छ। काठमाडौंको सबैभन्दा कमजोर पक्ष जीवनस्तर देखिएको छ। जीवनस्तरमा काठमाडौं ८४०औँ स्थानमा रहँदा मानवीय पुँजीमा ५६२औँ, अर्थतन्त्रमा ६७०औँ, वातावरणमा ६३९औँ र सुशासनमा ६३५औँ स्थानमा छ। प्रतिवेदनअनुसार काठमाडौंमा मानवीय पुँजीको तुलनामा जीवनस्तर कमजोर देखिएको छ। आवास लागत, सहरी अव्यवस्था, ट्राफिक, प्रदूषण, सार्वजनिक सेवा तथा बसोबासको सहजताजस्ता पक्षले जीवनस्तरमा चुनौती थपेको देखिन्छ। जीवनस्तर सूचकमा भने अस्ट्रेलियाको क्यानबेरा पहिलो स्थानमा परेको छ।

यस्तै, अर्थतन्त्र सूचकमा अमेरिकी सहरहरूको वर्चस्व देखिएको छ। मानवीय पुँजीमा लन्डन, वातावरणमा होनोलुलु तथा सुशासनमा कोपनहेगन पहिलो स्थानमा रहेका छन्। समग्र सूचकांकले सहरको उत्कृष्टता आर्थिक सामर्थ्यमा मात्र नभई जीवनस्तर, वातावरण, मानवीय पुँजी र प्रभावकारी सुशासनसँग समेत जोडिएको देखाएको छ।

तपाईको प्रतिक्रिया