चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा जीवन बीमा कम्पनीहरूले करिब ७७ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन्। यस अवधिमा एक करोड १५ लाख ३९ हजार १९५ बीमालेख जारी गरिएको छ।
मंसिर महिनामा मात्रै तीन लाख ५६ हजार २६५ बीमालेख बिक्री गर्दै कम्पनीहरूले १४ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। मंसिर मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्ने कम्पनीको रूपमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ। कम्पनीले १७ लाख ९० हजार ८५ बीमालेख बिक्री गरी २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले १३ लाख ४५ हजार ७८८ बीमालेख जारी गर्दै ९ अर्ब २७ करोड २ लाख ९६ हजार रुपैयाँको व्यवसाय गरेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९३ हजार १३१ बीमालेख बिक्री गरी ८ अर्ब १८ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ८३ हजार ४७७ बीमालेख जारी गरी ५ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको व्यवसाय गर्दा मेट लाइफले २ अर्ब ६३ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको बीमाशुल्क उठाएको छ। एशियन लाइफले ३ अर्ब ७५ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने आईएमई लाइफले २ अर्ब ४५ करोड ९४ लाख र सानिमा रिलायन्स लाइफले २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
मंसिर मसान्तसम्म रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब २३ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ। चालु आवको पाँच महिनामा सन नेपाल लाइफले १ अर्ब ६४ करोड ९९ लाख ३ हजार र प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड १८ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका छन्।

Online Arthik










