रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आम सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गर्न लागेको हो।कम्पनीले निष्कासन गर्ने सेयरमध्ये सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता र कर्मचारीहरूका लागि २८ हजार ४४० कित्ता सेयर छुट्ट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आईपीओ आवेदन दिन सकिने व्यवस्था गरिएको छ।यो आईपीओ निष्कासन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म बन्द हुने जनाइएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँबराबरको २६ लाख ७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। यसअन्तर्गत पहिलो चरणमा गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिएको थियो। पहिलो चरणको आईपीओ वितरणपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

Online Arthik









