काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि गुडिरहेको बसमा सोमबार आगलागी भएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो। भक्तपुरबाट थानकोटतर्फ जाँदै गरेको बसमा अचानक आगो लागेको बताइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागीमा बस चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि बर्न अस्पताल लगिएको छ।बसमा आगलागी हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।एक प्रत्यक्षदर्शीका अनुसार बसको चालक बस्ने सिटनजिकबाट आगो लागेको देखिएको थियो। यद्यपि आगलागीको वास्तविक कारणबारे आफूलाई जानकारी नभएको उनले बताएका छन्।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।

Online Arthik










