नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँमा झरेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । गोल्डप्राइसका अनुसार मंगलबार सुनको मूल्य प्रतिऔंस ५४.३१ डलर अर्थात् १.३७ प्रतिशतले घटेर ३ हजार ९०५.५३ डलरमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य १.८३ डलर अर्थात् ३.५९ प्रतिशतले घटेर प्रतिऔंस ४९ डलर कायम भएको छ ।पछिल्लो ३० दिनको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४.१२ प्रतिशत र चाँदीको मूल्य १६.६५ प्रतिशतले घटेको छ । यस अवधिमा सुन प्रतिऔंस १७०.३६ डलर र चाँदी १०.१५ डलरले सस्तिएको छ । सुनको तुलनामा चाँदीको मूल्यमा बढी गिरावट देखिएको छ ।धनतेरस नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय बजारमा आएको यस्तो गिरावटले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ । यसपटक धनतेरस आगामी शुक्रबार कात्तिक २० गते परेको छ भने त्यसको भोलिपल्ट कात्तिक २१ गते काग तिहारसँगै तिहार सुरु हुँदैछ । नेपाल तथा भारतमा धनतेरसका दिन सुनचाँदीका गहना, सिक्का तथा भाँडाकुँडा खरिद गर्ने परम्परा छ । यस्तो खरिदलाई धनसमृद्धि र शुभलाभको प्रतीकका रूपमा लिने गरिन्छ ।विशेषगरी चाँदीको मूल्यमा पछिल्लो एक महिनामा आएको उच्च गिरावटले चाँदीका सिक्का, पूजा सामग्री तथा भाँडाकुँडा खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्न सक्ने देखिन्छ ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य गिरावटको प्रभाव नेपाली बजारमा समान अनुपातमा पर्छ भन्ने हुँदैन । स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दा डलरको विनिमय दर, आयात लागत र करलगायतका पक्षले प्रभाव पार्छन् । साथै, गहना खरिद गर्दा ज्याला तथा जर्तीसमेत जोडिने भएकाले उपभोक्ताले तिर्नुपर्ने अन्तिम रकम बजारमा प्रकाशित मूल्यभन्दा बढी हुन सक्छ ।

तपाईको प्रतिक्रिया