सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ८ वर्षे अवधिको विकास ऋणपत्र २०९१ जारी गर्ने भएको छ। कार्यालयले बिहीबार निष्कासन गर्न लागेको उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिने जनाएको छ।

ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले कात्तिक १८ गते बुधबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन्। ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी २०९१ कात्तिक १९ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। कार्यालयका अनुसार ऋणपत्रको कुल निष्कासन रकममध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाका लागि र १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाका लागि छुट्याइएको रकममा पूर्ण बोल प्राप्त नभए बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ। त्यस्तै, छुट्याइएको रकमभन्दा बढी बोल प्राप्त भएमा समानुपातिक रूपमा बाँडफाँड गरिनेछ।प्रतिस्पर्धी बोलवालाले आफूले खरिद गर्न चाहेको रकम र कबोल गरेको ब्याजदर उल्लेख गर्नुपर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम मात्र उल्लेख गरे पुग्नेछ। प्रतिस्पर्धी बोलकबोलबाट निर्धारण भएको एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई समेत ऋणपत्र बिक्री गरिनेछ।

ऋणपत्र खरिदका लागि न्यूनतम ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्कासन रकमसम्म रहनेछ। खरिद रकम ५० हजारले निःशेष भाग जाने हुनुपर्नेछ। इच्छुक व्यक्ति तथा संस्थाले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीमध्ये कुनै एक प्रक्रियाबाट मात्र सहभागी हुन सक्नेछन्। तर, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धी बोलकबोलमा सहभागी हुन पाउने छैनन्।

तपाईको प्रतिक्रिया