गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि सोमबार बिहान १० बजेदेखि शाखा औपचारिक रूपमा ग्राहकका लागि खुला गरिएको हो। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको शुभारम्भ गरेका हुन्।गुरुङका अनुसार आन्दोलनका क्रममा देशभरका १२ वटा भाटभटेनी स्टोरमा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा शाखा पुनर्निर्माणपछि सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडा शाखाको काम अन्तिम चरणमा पुगेको छ।पुनर्निर्माणका क्रममा निकै चुनौती सामना गर्नुपरेको बताउँदै गुरुङले भाटभटेनीलाई खरानीबाट पुनः उभ्याउने अठोटका साथ काम गरेको बताए। उनले भाटभटेनी आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई हजारौँ नेपालीले रोजगारी पाएको देशको सम्पत्ति भएको धारणा राखे।उनले निजी क्षेत्रले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै व्यवसायीलाई निराश नहुन र निरन्तर काम गर्न आग्रह गरे। साथै, निजी क्षेत्र तथा देशको सम्पत्तिको सुरक्षाका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए।टंगाल शाखा पुनः सञ्चालनमा आएपछि बिहानैदेखि ग्राहकको उल्लेख्य उपस्थिति देखिएको थियो। लामो समयदेखि शाखा बन्द हुँदा दैनिक उपभोग्य सामग्री खरिद गर्न असहज भएको बताउँदै ग्राहकहरूले स्टोर खुलेपछि खुसी व्यक्त गरेका छन्।नियमित ग्राहक विष्णु भण्डारीले टंगाल शाखा बन्द हुँदा सामान खरिदका लागि विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेको बताइन्। अब पुनः सहज रूपमा किनमेल गर्न पाउने भन्दै उनले खुसी व्यक्त गरिन्।अर्का नियमित ग्राहक गोविन्द रेग्मीले आगजनीपछि छोटो समयमै नयाँ स्वरूपमा स्टोर सञ्चालनमा आउनु साहस र दृढताको उदाहरण भएको बताए।

भाटभटेनीले टंगाल शाखा पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई आधुनिक, गुणस्तरीय र सहज सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया